जनता टाइम्स

४ आश्विन २०८१, शुक्रबार १३:२४

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित, राजीनामा घोषणा गरेका कार्यबहाक अध्यक्ष बिष्टले भाँडे चुनाव


काठमाडौं, असोज ४ । नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । अध्यक्ष बिपुल पोखरेललाई राजीनामा गर्न बाध्य पारेर कार्यबहाक अध्यक्ष बन्नुभएका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले उम्मेद्वारी मनोनयनको दिन छापामार शैलीमा सम्पूर्ण चुनावी प्रकृया अनिश्चितकालका लागि स्थगित गर्नुभएको हो ।

पोखरेलको राजीनामापछि असोज ५ गतेका लागि तय भएको निर्वाचन मिति बिष्टले कार्यबहाक अध्यक्ष बनेलगत्तै असोज १२ गतेका लागि सिफारिश गर्दै निर्वाचन समितिलाई पत्र पठाउनु भएको थियो । निर्वाचन समितिले चुनावी कार्यतालिका निकालेर अघि बढेको अवस्थामा बिष्टले आज बिहान एकाएक पत्र पठाएर चुनाव रोक्नुभएको हो ।

बिहीवार कार्यबहाक अध्यक्षबाट राजीनामा दिएको र महिला उपाध्यक्ष बाला अधिकारीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको घोषणा गर्नुभएका बिष्टले शुक्रवार भने चुनाव रोक्नुभएको हो । सवै संगठनका अध्यक्षहरुलाई बैठकमा बोलाएर आमाचकारी गर्दै कार्यबहाक उपाध्यक्ष बिष्टले पद त्यागेको घोषणा गर्नुभएको थियो ।

बैठकमा इमान, नैतिकतासहित घर परिवारका सदस्यको समेत कसर खाँदै बिष्टले भन्नुभएको थियो, ‘म घाँस खाने होइन, नैतिकतामा च्यूत मान्छे होइन । म यसै क्षण कार्यबहाक अध्यक्षबाट राजीनामा दिन्छु र बाला अधिकारीलाई कार्यबहाक अध्यक्ष तोकेको छु । मैले कार्यबहाक छोेडे, एक घन्टाभित्र प्रक्रिया पुर्याएर कार्यबहाक अध्यक्षको पत्र बालाजीलाई दिन्छु । मैले कार्यबहाक पदबाट राजीनामा दिएँ । एक दुई तीन यो पदमा फर्किन्न ।’

यसरी राजीनामा दिएको घोषणा गर्नुभएका बिष्टले शुक्रवार भने चुनाव स्थगितको पत्र दिनुभएको छ । उहाँको पत्रपछि महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले शुक्रबार सूचनामार्फत जानकारी दिएको छ ।

निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्र अनुसार उम्मेदवारको मनोनयन दर्ता लगायत कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको समितिले जनाएको छ ।