मोरङ, असोज ४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई बलियो बनाउन सवै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा शुक्रवार विराटनगरमा आयोजित ‘जबज मार्गदर्शनमा सुशासन र समृद्धि ः अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने गरी फाउण्डेशनलगायत सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) एवं जनताको विश्वास र अधिकारका कारण गणतन्त्रमा स्थानीय निकायदेखि राष्ट्रपतिसम्मको पद प्राप्त गर्न सकिएको धारणा राख्नुभयो ।
‘विगतमा पार्टीले अगाडि सारेका सिद्धान्त, सङ्घर्ष र जनताको साथले नै देशमा पछिल्ला उपलब्धि हासिल भएका छन। यसले समानुपातिक समावेशी प्रतिनिधित्वदेखि जनताको विकासको चाहनालाई कार्यान्वयन गर्न सोहीअनुसारका संवैधानिक एवं कानुनी व्यवस्था गरेको छ । त्यसैले अब हामी सबै मिलेर परिवर्तनको संस्थागत विकासका लागि अगाडि बढ्नुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारीको सफल नेतृत्वका कारण मुलुकमा प्रजातान्त्रिक र वामपन्थी शक्तिबीच एकता भएको र त्यसैकारण विसं २०४६ को आन्दोलन सफल भएको बताउनु भयो । उहाँले मुलुकमा विकास, समृद्धि एवं जनतालाई रोजगारी प्रदान गर्न फाउण्डनेशनलाई आवश्यक सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले सबै जातजातिका भाषा, संस्कृति एवं भेषभूषाको संरक्षण गरी नेपाली पहिचान कायम गर्नुपर्ने धारणा राख्नुभयो । एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, फाउण्डेशनका प्रदेश अध्यक्ष गोपाल गुरागाईं र फाउण्डेशनका उपाध्यक्ष विजय राईले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । गोष्ठीमा प्रदेशका १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्