जनता टाइम्स

५ आश्विन २०८१, शनिबार १०:०५

न्यूयोर्क आइपुगे प्रधानमन्त्री ओली, युएन महासभामा सम्बोधनदेखि अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग भेटघाटसम्मका तालिका


न्यूयोर्क, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि जोन अफ केनडी अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेसहितका पदाधिकारी तथा सदस्यहरुले हार्दिक स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आउनु भएको हो ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगसमेत भेटबार्ता गर्ने कार्यक्रम रहेको छ । यतै नेपाली समुदायले आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुनुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, प्रमुखस्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ ।