जनता टाइम्स

६ आश्विन २०८१, आईतवार ००:०१

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण : न्युयोर्कमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने निश्चित


न्यूयोर्क, असोज ६ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज साँझ भेटवार्ता हुने तय भएको भ्रमण दलमा रहेका एक सदस्यले जनताटाइम्स डटकमलाई जानकारी दिए । ती सदस्यका अनुसार स्थानीय समयअनुसार आइतबार साढे ५ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटबार्ता हुनेछ ।

प्रधानमन्त्रीद्वय ओली र मोदीबीचको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेको पनि उनले बताए । ’सम्माननीय प्रधानमन्त्रीज्युको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ । केही तलमाथि नभए सेप्टेम्बर २२ (आज) साँझ उहाँहरूबीच भेटवार्ता हुनेछ,’ ती सदस्यले भने ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शनिवार बिहान कतार हुँदै अमेरिकाको न्यूयोर्क आइपुग्नु भएको हो । न्यूयोर्कमा रहनुभएका प्धानमन्त्री ओलीले केहीबेर अघि फोसिल फ्यूलमुक्त संसदीय सञ्जालको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी सेप्टेम्बर २३ मै स्वदेश फर्किने कार्यक्रम रहेको कारण प्रधानमन्त्री ओली र मोदीबीचको भेट २२ तारिखलाई मिलाइएको स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले गत भदौ २२ गते फराकिलो मनले संवाद गरेमा नेपाल र भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताउनु भएको थियो । उहाँले भारत लामो संस्कृति भएको छिमेकी मित्र भएको र नेपालले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।

प्रधानमन्त्रीद्वय ओली र मोदीबीचको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेको पनि उनले बताए । ’सम्माननीय प्रधानमन्त्रीज्युको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ । केही तलमाथि नभए सेप्टेम्बर २२ (आज) साँझ उहाँहरूबीच भेटवार्ता हुनेछ,’ ती सदस्यले भने ।

न्युयोर्कमा हुने भेटमा पनि उहाँहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुने छ। नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली असोज १२ गतेसम्म न्युयोर्कमा रहनु हुनेछ । न्यूयोर्कमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । उहाँ असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर असोज १४ गते नेपाल फर्कनु हुनेछ ।