जनता टाइम्स

६ आश्विन २०८१, आईतवार ०८:०३

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटबार्ता


न्युयोर्क (अमेरिका), असोज ६ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।

भेटबार्तामा नेपालको शान्ति प्रक्रिया टुंग्याउन भइरहेको पहलको बिषयमा महासचिव गुटेरेसलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ। ओली स्थानीय समयअनुसार शुक्रबार राति अमेरिका आइपुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री ओलीले नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि हुनेछ। प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे भेटवार्ता हुने तयि भएको छ । प्रधानमन्त्री ओलीले महासभामा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन समेत गर्ने कार्यसूची छ ।