न्युयोर्क (अमेरिका), असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटबार्ता भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीबीच आज बिहान न्यूयोर्कमा भेटबार्ता भएको हो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि ओलीले भारतका प्रधानमन्त्री मोदीसँग गर्नुभएको यो पहिलो भेटबार्ता हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटबार्ता अर्थपुर्ण रहेको बताइएको छ ।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । भेटपश्चात प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ गति दिन चाहेको जानकारी दिनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीसँगको छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको जानकारी पनि दिनुभएको छ ।
‘भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले ट्विट (एक्स) मार्फत लेख्नुभएको छ ।
भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शनिवार कतार हुँदै अमेरिकाको न्यूयोर्क आइपुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्