जनता टाइम्स

७ आश्विन २०८१, सोमबार ०९:२०

रबि लामिछानेकी बिश्वास पात्र नेतृ ज्वालाको धर्नापछि दुर्गा प्रसाईं समात्न बाध्य बन्यो प्रहरी


काठमाडौं, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सभापति रबि लामिछानेकी बहिनी ज्वाला संग्रौलाले धर्ना दिएरै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गराएको तथ्य खुलेको छ ।

रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले आफ्नो उजुरीअनुसार प्रसाईलाई पक्राउ नगरे प्रहरी कार्यालयमै धर्ना बस्ने बताएपछि साइबर अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले उहाँलाई पक्राउ गरेको हो । संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ गरिएको थियो । प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंलाई पक्राउ गरेपछि साइबर ब्युरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

प्रसाईंले रास्वपा केन्द्रीय सदस्य संग्रौलाविरुद्ध ‘फेक समाचार’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रसाईंलाई पक्राउ गर्न ढिलाई गरिएको भन्दै संग्रौलाले सामाजिक सञ्जालमा आपत्ति जनाउनु भएको थियो । प्रसाईंका समर्थकले आफूलाई ज्यान मार्ने धम्की दिएको पनि संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री प्रकाशनलाई निषेध गरिएको छ । ‘सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ कानुनमा भनिएको छ ।

साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द्र अर्यालले साइबर अपराधसम्बन्धी उजुरी परेका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रसाईंबिरुद्ध उजुरी दिने रास्वपाकी केन्द्रीय सदस्य संग्रैलाले आफूलाई सभापति रबि लामिछानेको पारिवारिक सदस्यका रुपमा परिचित गराउँदै आउनु भएको छ ।