काठमाडौं, ७ असोज । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिनुभएको छ । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहनुभएको ५५ बर्षिय दिसानायाकले आज पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बन्नुभएको हो । शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सक्नुभएन ।
पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उहाँका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गर्नुभयो । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो ।
विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो हुनुभएको थियो । दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्ने गर्नुहुन्छ । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गर्नुभएको थियो । अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गर्नुभएको छ ।
संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ । सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो । त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो । श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ ।
यद्यपि, प्रहरीले ‘सार्वजनिक सुरक्षा’ लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो । श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको थियो । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए ।
प्रतिक्रिया दिनुहोस्