जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार ११:३५

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, यस्तो छ कार्यक्रम


काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जानुभएको हो ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले बिदाई गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ भने म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नुहुनेछ ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनुहुने छ । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उहाँले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमणसमेत गर्नुहुनेछ । नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको हो । गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत रहनुभएको छ । राष्ट्रपति भण्डारी म्यानमार भ्रमणबाटै कात्तिक २ मा जापान जानुहुनेछ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुन उहाँ जापान जान लाग्नुभएको हो । उहाँ कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।