काठमाडौं, असोज ८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अकारण सिर्जना गरिएको १० वर्ष लामो द्वन्द्वले मुलुक निकै पछि परेको बताउनु भएको छ ।
एमाले युवा बिद्यार्थी बिशेष जिल्ला कमिटीले काठमाडौंमा आज आयोजना गरेको फुटसल प्रतियोगितामा संक्षिप्त धारणा राख्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले इतिहासको मुल्यवान समय १० वर्षे द्वन्द्वको कारणले खेर गएको निश्कर्ष पनि सुनाउनु भयो ।
‘अकारण मुलुक १० वर्ष द्वन्द्वमा भयो । केही कारण पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन,’ एमाले उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘त्यो द्वन्द्धप्रति इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान समय खेर नै गयो ।’
उहाँले विकास, समृद्धि सबै कुरा द्वन्द्वको कारणले नभएकाले अर्को १० वर्ष त्यसको परिपूर्ति गर्न लागेको पनि बताउनु भयो । यस्तै उहाँले देश बन्दैन भन्ने भाष्य निर्माण भएको जनाउँदै देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्ने बताउनु भयो ।
आफूहरु कुनै ठाउँमा चुकेका भएपनि प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउन खोजिरहेको भन्दै उहाँले तिनीहरुको योजना चकनाचुर पार्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्