जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १३:४१

नेपाल–चीन र भारतबीच त्रिदेशीय साझेदारीको आधार बन्दै गएको प्रचण्डको निश्कर्ष


काठमाडौं, असोज २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताउनुभएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको पनि बताउनु भयो । ‘यो भ्रमणका धेरै आयात छन्, त्यसको एउटा महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत रहेको छ,’ प्रचण्डले भन्नुभयो । राष्ट्रपति सी भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक दिन छलफल गरेर नेपाल आउनुभएको थियो । नेकपा अध्यक्ष प्रचण्डले आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको स्मरणसमेत गर्नुभयो ।

‘अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ,’ प्रचण्डको भनाई थियो । टु प्लेस वान भनेर राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच छलफल हुन थालेको जानकारी पनि उहाँले दिनुभयो ।