जनता टाइम्स

१० आश्विन २०८१, बिहीबार ००:०३

न्यूयोर्कको ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा प्रधानमन्त्री ओली, मृतकप्रति श्रद्धाञ्जली अर्पण


न्यूयोर्क, असोज १० । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर सो ज्यान गुमाएका बिभिन्न देशका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

‘वल्र्ड ट्रेड सेन्टर’ क्षेत्रमा रहेको उक्त स्मारक ९/११ स्मारकका नामले चिनिन्छ । सन् २००१ मा अल कायदाका आतङ्ककारी समूहले अपहरण गरेको दुईवटा हवाईजहाज ट्वीन टावरमा ठोक्काएर २ हजार ९ सय ७७ जनाको ज्यान लिएका थिए । सो स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ ।

प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालकी स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सो स्थानमा जानुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले सङ्ग्रहालयको बारेमा जानकारी दिनुभएको थियो । सो स्मारकमा उक्त आक्रमणमा मारिकाहरू सबैको तस्वीर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ।