चितवन, ११ असोज । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ ।
उहाँले भन्नुभयो,‘पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ ।’ वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताउनुभयो । डुङ्गा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो ।
सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उहाँले बताउनुभयो । प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो,‘कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ । मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिनेछ ।’ यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्