काठमाडौं, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गर्नुभएको छ ।
हाल अमेरिकामा रहनुभएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ,
‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन् । अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ । केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारीपूर्वक उद्धारको काम अघि बढाउनुहोला । मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं । विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं ।’
प्रतिक्रिया दिनुहोस्