सङ्खुवासभा, १२ असोज । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको हो ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो ।
जिल्ला प्रहरी कार्यालयले सतर्क रहन आग्रह गर्दै भनेको छ,‘आज बिहान ०६ः०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ । डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेको छ । नदी आसपासका बासिन्दाहरूले थप सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ २६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी ४२९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्