रौतहट, १२ असोज । पछिल्लो तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो सुरु भएको छ । लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर–१ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभएको छ । त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ ।
कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठूलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ–ठाउँमा माईकिङ गरिरहेको छ । त्यस्तै बाढी र डुबान कटानको जोखिमबाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताउनुभएको छ । रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताउनुभएको छ ।
जिल्लाको पूर्विभेग राजदेवि नगरपालिका ,दुर्गाभगवति गाउपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उहाँले जानकारी दिनुभयो । अबिरल बर्षाको पानीले ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ । बिहीवारदेखि परेको अबिरल वर्षाको कारण जिल्लाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी ,गर्ने खेतमा काम गर्ने मजदुर, दैनिक ससाना ब्यापार गर्ने ब्यवसायी अबिरल वर्षाको कारण ठूलो कठिनाईमा पर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्