काठमाडौं, असोज १२। संघीय राजधानी काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि सो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । यस्तै पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । ठाउँठाउँमा पाढी र पहिरोले सडक बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै अर्काे नाका हेटौंडा–काठमाडौं जोड्ने सबै सडक पनि बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन। बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका हुन ।
यसैगरी अरनिको राजमार्ग समेत अवरुद्ध भएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी-पहिरोको सबैभन्दा बढी असर विपी राजमार्गमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्