काठमाडौं उपत्यकामा यति ठूलो वर्षा योभन्दा पहिले कहिल्यै रेकर्ड भएको थिएन । यो मौसमको अभिलेख राख्न थालिएयताकै सर्वाधिक वर्षा हो । मलाई लाग्छ, यहाँ २४ घण्टासम्म नियमित र यति धेरै वर्षा भएको यो नै पहिलोपटक हो
काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । उपत्यकाका विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।
बिभागले विभागमार्फत सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको अभिलेखमा शनिबार काठमाडौंमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको मौसमविद गोविन्द झाले जानकारी दिनुभएको छ । काठमाडौंमा सन २००२ मा सबैभन्दा ठूलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रबार र शनिबार झनै ठूलो वर्षा भएर नयाँ रेकर्ड बनाएको हो ।
शनिबार बिहान ८ः४५ बजेको रेकर्डअनुसार काठमाडौंको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ । जबकी सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो । विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको देखिएको मौसमविद् झाले बताउनु भयो ।
‘काठमाडौं उपत्यकामा यति ठूलो वर्षा योभन्दा पहिले कहिल्यै रेकर्ड भएको थिएन । यो मौसमको अभिलेख राख्न थालिएयताकै सर्वाधिक वर्षा हो । मलाई लाग्छ, यहाँ २४ घण्टासम्म नियमित र यति धेरै वर्षा भएको यो नै पहिलोपटक हो,’ मौसमविद झाले भन्नुभयो ।
उहाँका अनुसार बुढानीलकण्ठ वर्षा मापन केन्द्रमा सन् २००७ मा १५९ मिलिमिटर वर्षा भएको रेकर्ड थियो । शनिबार १८७.३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा शनिबार ३२३ मिलिमिटर वर्षा भएको छ ।
मौषसविद झाले उपत्यकामा ९ वटा वर्षा मापन केन्द्रहरूमा रेकर्ड ब्रेक भएको र उपत्यकाबाहिर पनि धेरै ठाउँहरूमा अत्यधिक वर्षा भएको बताउनु भयो । काठमाडौंमा शुक्रबार बिहानदेखि सुरु भएको भारी वर्षा शनिबार अपरान्हपछि मात्रै रोकिएको छ । भारी वर्षाका कारण उपत्यकाका नदीहरूले बाढीको रुप लिएका छन भने नदी आसपासका सहर र सडक जलमग्न बनेका छन ।
शुक्रबार एकसाथ देशका २२२ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा रेकर्ड भएको थियो । तीमध्ये शनिबार ७७ स्थानमा अत्यधिक वर्षा मापन भएको छ । ती स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । विभागकाअनुसार अत्यधिक वर्षा भएका ठाउँहरूमा बाढी, पहिरो र सडक भासिनेजस्ता घटना भएका छन । अत्यधिक वर्षाका कारण हालसम्म उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने देशभर शनिबार साँझसम्म ६६ जनाले बाढी, पहिरोबाट ज्यान गुमाएका छन भने ७९ जना बेपत्ता छन ।
प्रतिक्रिया दिनुहोस्