जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार २२:४०

नौबिसे-नागढुंगा पहिरोमा पुरिएर ज्यान गुमाएका १४ जना बुटवलबाट छुटेको बसका यात्रु


काठमाडौं, असोज १२ । धादिङको नौबिसे-नाकढुंगा सडकको पहिरोमा पुरिएर मृत्यु भएका १४ जना बुटवलबाट काठमाडौंका लागि छुटेको बसका यात्रु भएको खुलेको छ ।

बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडी र यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ ।

समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान काठमाडौंका लागि हिँडेको थियो । लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो ।

बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ । बुटवल ट्राफिकचोकस्थित टिकट काउन्टरबाट बुटवल कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खानगरका ३ जनाले टिकट काटेको कर्मचारी न्यौपानेले बताए । गाडी चालक रमेश लुइँटेलले चलाएका थिए ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको छ ।