जनता टाइम्स

१३ आश्विन २०८१, आईतवार १४:०३

झ्याप्लेखोला पहिरोले ठूलो मानवीय क्षती : ३ वटा गाडीबाट ३० जनाको शव भेटियो


काठमाडौं, असोज १३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा आएको पहिरोले ठूलो मानवीय क्षती पुगेको पाइएको छ । सो पहिरोमा अहिलेसम्म ३ वटा गाडी पुरिएको अवस्थामा ३० जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको हो । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ । सोही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।