धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव निकालिएसँगै शुक्रबारदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।
काठमाडौं, असोज १३। धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला छन ।
प्रहरीका अनुसार लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनु भयो ।
नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उहाँले जानकारी दिनुभयो । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष रहेका छन । एसपी अधिकारीका अनुसार ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।
निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । योसँगै शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्