काठमाडौं, १३ असोज । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आज लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ । अल्जजीराले ट्याङ्कहरू तैनाथ गरेका तस्विर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो । अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ ।
रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ । यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो । रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू–१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउन सक्षम रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्