काठमाडौं, असोज १३ । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले आइतबार कँडेल र ढुंगानालाई ३–३ महिनाको कैद सजाय सुनाएको हो ।
इजलासले अदालतसमक्ष क्षमायाचना गरेमा भने ७ दिन कैद सजाय गर्ने फैसला गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिनुभयो । सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।
सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ । त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।
प्रवक्ता कुइकेलले अनलाइनले क्षमायाचना सहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना मिनाहा गर्ने आदेश दिएको जानकारी दिनुभयो । सुरुमा संयुक्त इजलासले हेरेको यो मुद्दा पछि बृहत पूर्ण इजलासमा पठाइएको थियो । बृहत पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर आइतबार फैसला सुनाएको हो ।
समाचार लेखेर वा प्रकाशित गरेर अदालतको अवहेलना गरेको भन्ने मुद्दामा सर्वोच्च अदालतले गरेको यो सबैभन्दा ठूलो कैद सजाय हो ।
प्रतिक्रिया दिनुहोस्