जनता टाइम्स

१४ आश्विन २०८१, सोमबार १०:३८

काठमाडौं उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा : १४ जिल्लाका २५ स्थानमा पर्यो सबैभन्दा बढी पानी


काठमाडौं, असोज १४ । जल तथा मौसम विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको तथ्य सार्वजनिक गरेको छ ।

विभागले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ । विभागका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो ।

विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । बिभागले जनाएअनुसार काठमाडौं अन्तराष्ट्रिय विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर बर्षा भएको छ । यस्तै बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको बिभागले जनाएको छ ।

बिभागका अनुसार ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । यसैगरी भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ । ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर बर्षा भएको रेकर्ड गरिएको बिभागको तथ्यांकमा उल्लेख छ ।

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा तीन सय ३१ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विभागका अनुसार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा एक सय ९६ दशमलव छ, चितवनको गोविन्दबस्तीमा दुई सय ६४, धादिङको गजुरीमा दुई सय ६१ दशमलव दुई, झापाको चन्द्रगढीमा दुई सय ५६, काभेपलाञ्चोकको पाँचखालमा दुई सय ३२ दशमलव पाँच, धुलिखेलमा दुई सय २४ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै नुवाकोटको ककनीमा एक सय ६९ दशमलव दुई, सिन्धुपाल्चोको बाहुनेपाटीमा एक सय ९० दशमलव छ, मकवानपुरको दामनमा चार सय १० मिलिमिटर वर्षा भएको छ भने पाल्पाको बल्ड्याङगढीमा दुई सय ५२, पाँचथरको फिदिममा एक सय ७२, तनहुँको सखरमा दुई सय १४ र तनहुँको खैरनीटारमा दुई सय ५२ दशमलव तीन मिलिमिटर बर्षा मापन भएको छ ।