जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १२:१९

तालिम केन्द्रभित्र प्रहरीबाटै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत भएपछि…


नेपालगन्ज, असोज ३० । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी प्रहरीबाटै बलात्कृत भएकी हुन्।

सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले चार दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्। सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती करणी गरेको पीडितको भनाई छ।

महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथि अनुसन्धान सुरु गर्न निर्देशन दिनुभएको थियो ।
‘बलात्कारको घटनाबारे पीडितबाट कम्प्लेन आयो, त्यसपछि प्रहरीलाई बोलाएर अनुसन्धान गर्न जिम्मा लगाईएको छ,’ डिआईजी जोशीले भन्नुभयो । डिआइजी जोशीले घटनाको निश्पक्ष अनुसन्धान गर्न बाँके प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

पीडितको जाहेरीका आधारमा रानालाई पक्राउ गरी अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।