जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १२:१५

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै


काठमाडौं, १५ असोज । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिनुभएको हो । किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले योशिहिदी सुगाको स्थान लिनुभएको थियो ।

सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उहाँ जापानको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ । उहाँले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसक्नुभएको छ ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लाग्नुभएको हो । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उहाँले निर्वाचन गर्न लागेको उहाँका आलोचकहरुले बताएका छन् । जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।