जनता टाइम्स

१७ आश्विन २०८१, बिहीबार १०:१२

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिएको उपरजिस्ट्रार घिमिरेको घोषणा, मध्यराती खाए अब कसैको प्यादा नबन्ने कसम


काठमाडौं, असोज १७ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले आफ्नो प्रतिवेदन फिर्ता लिने घोषणा गर्नुभएको छ ।

बुधवार मध्यरातमा सार्वजनिक वक्तव्य दिँदै घिमिरेले अब आफू कसैको प्यादा नबन्ने भन्दै यस्तो घोषणा गर्नुभएको हो ।

उपरजिस्ट्रार घिमिरेले प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको दबाबमा बारअध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गराउनु परेको संकेत पनि गर्नुभएको छ । उहाँले अदालत खुले लगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताएका छन् । दशैं बिदाका कारण घटस्थपनादेखि कोजाग्रतसम्म अदालत बन्द रहने गर्दछ ।

बारअध्यक्ष घिमिरेविरुद्धको पेसी कार्तिक एक गते तोकिएको छ । प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अपहेलनाको मुद्दा चलाएको बारको ठहर छ । यसअघि उपरजिस्ट्रार घिमिरेबाटै अवहेलनाको प्रतिवेदन तयार पारेर सिधाकुराका पत्रकारयुवराज कँडेल र नवीन ढुंगानामाथि मुद्दा चलाइएको थियो । उहाँहरूलाई जेल सजाय भइसकेको छ ।

उपरजिष्ट्रार घिमिरेले लेख्नुभएको छ, ‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वबिरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउन चाहन्छु ।’ उपरजिस्ट्रार घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ लगत्तै बुधवार नै सामाजिक सञ्जालबाट ३६४ दिन कसैको प्यादा बनियो । एक दिन स्वतन्त्र भइन्छ भन्ने प्रधानन्यायाधीश श्रेष्ठको शासनबाट मुक्ति पाएको बताउनु भएको थियो ।

घिमिरेले लेख्नुभएको छ :

म हिजोदेखि निदाउन सकेको छैन । जिवनभर प्रजातन्त्रको पछि लागियो । बा सधै यस्कै लडाई लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउछु । अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन ।