जनता टाइम्स

१८ आश्विन २०८१, शुक्रबार १०:३०

बाढी-पहिरो र डुवानमा परी २३६ जनाको मृत्यु, ११ हजार बढी विस्थापित


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो र डुवानमा परी ज्यान गुमाउनेमा ११४ जना पुरुष, ३२ महिला र १९ जना बालबालिका रहेका छन । बाढी पहिरोमा परी अझै १९ जना बेपत्ता छन भने घाइतेहरुको संख्या १६५ रहेको छ ।

काठमाडौं,असोज १८ । असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो र डुवानमा परी ज्यान गुमाउनेमा ११४ जना पुरुष, ३२ महिला र १९ जना बालबालिका रहेका छन । बाढी पहिरोमा परी अझै १९ जना बेपत्ता छन भने घाइतेहरुको संख्या १६५ रहेको छ ।

गृह प्रवक्ता तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार बढीको उद्धार गरिएको छ । गृहका अनुसार हालसम्म ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढी पहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा अर्बाैंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सञ्चालन ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।

यातायातका साधन सहज रुपमा सन्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ । सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ भने आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० रहेको छ । यस्तै १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन भने १० हजार ८०७ जना विस्थापित भएका छन ।

बाढी पहिरोले ११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । यस्तै ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको छ ।