दोलखा, असोज १९ । मालुखोला नजिकै पहिरो गएर शनिबार बिहानदेखि अवरुद्ध भएको काठमाडौंबाट दोलखा सदरमुकाम चरिकोटहुँदै रामेछापको मन्थली, ओखलढुङ्गा, सिन्धुली, खोटाङ, सोलुखुम्बु लगायत पूर्वको भोजपुरसम्म जाने वैकल्पिक सडक खुलाइएको छ ।
पहिरो गएको ठाउँ माथिबाट डोजर प्रयोग गरेर नयाँ सडक खनेपछि यातायात सञ्चालनमा आएको हो । दोलखाको मालुखोला नजिक तामाकोशी नदी किनारमा पहिरो गएर सडक झरेपछि शनिबार बिहानबाट यातायात साधन अवरुद्ध भएका थिए । वर्षाको कारण गलेको सडक माथिबाट झरेको पानीले गलेर पहिरो गएको हो ।
बीपी राजमार्ग अवरुद्ध हुँदा बीपी मार्गहुँदै पूर्व जाने साना यातायात साधनले यही मार्गलाई प्रयोग गर्दै आएका छन । काठमाडौंबाट काभ्रे, दोलालघाट, सिन्धुपाल्चोकको खाडीचौर, मुढे, दोलखाको चरिकोट हुँदै मन्थली निस्किएका सवारी साधन रामेछाप र सिन्धुलीको सिमानामा पर्ने सुनकोसी नदीको सित्खाबाट पुल तरेर बीपी मार्ग र मध्यपहाडी मार्गहुँदै पूर्व जाने गरेका छन ।
बीपी मार्ग बगाएपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रका सबै सवारी साधनहरूले यही मार्ग प्रयोग गर्दै आएका थिए । गत असोज १० गतेदेखि तीन दिनसम्मको भीषण वर्षाको कारण बीपी राजमार्ग क्षतविक्षत भएको छ । रामेछापलाई बीपी मार्गसँग जोड्ने खैरेनीघाट र खुर्कोटको पक्की पुल पनि बगाएको छ ।
चरिकोट–मन्थली सडकको पनि दोलखाको किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेको थियो । सो ठाउँमा खिम्ती जलविद्युत आयोजनको कम्पाउण्ड भित्रबाट अस्थायी रूपमा बाटो खोली सडक सञ्चालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्