जनता टाइम्स

२१ आश्विन २०८१, सोमबार ०३:१३

नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन, केही दिनपछि नेपालबाटै बाहिरिने


काठमाडौं, असोज २१ । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट पनि मनसुन बाहिरिएको छ ।

यही असोज ११ र १२ गते अकस्मात भारी वर्षा हुँदा काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । अब भने दसैँसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन । महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ ।

’मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,’ महाशाखाले भनेको छ । महाशाखाका अनुसार आइतबार पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रह्यो । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

मनसुन कायम रहेको क्षेत्रमा सोमबार र मंगलबार पनि मौसममा आंशिक बदली रहने विभागले जनाएको छ । यो वर्ष गत जुन १० मा मनसुन नेपाल भित्रिएको थियो । विज्ञहरूका अनुसार सरदर मितिभन्दा तीन दिन अगावै मनसुन नेपाल भित्रिएको थियो । नेपालमा औसतमा सरदर एक सय १२ दिन अर्थात् जुन १३ मा सुरु भएर अक्टोबर २ सम्म मनसुन रहने गरेको छ ।