जनता टाइम्स

२१ आश्विन २०८१, सोमबार १३:३३

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सहयोग उपलब्ध


गोरखा, २१ असोज । झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका गोरखाका दुई परिवारलाई जिल्ला प्रशसन कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ । यही असोज ११ गते राति गोरखाको लापुबेँसीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नको बस पहिरोमा पुरिँदा मृत्यु भएका दुईजनाको परिवारलाई आइतबार घरमा पुगेर राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

पीडित परिवारलाई प्रतिमृतक रु दुई लाख ५० हजारका दरले राहत सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो । ‘पहिरोमा ज्यान गुमाएका बसका चालक भीमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार दमाइँ र गण्डकी गाउँपालिका–४ का नवराज तिवारीको परिवारलाई राहत प्रदान गरिएको छ’, प्रजिअ दाहालले भन्नुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।

कोषमा सङ्घीय सरकारका तर्फबाट प्राप्त रु दुई लाख र गण्डकी प्रदेश सरकारका तर्फबाट प्राप्त रु ५० हजार गरी एकमुष्ट रु दुई लाख ५० हजार पीडित परिवारलाई उपलब्ध गराइएको प्रजिअ दाहालले बताउनुभयो । सोही पहिरोमा परेर ज्यान गुमाएका अन्य पीडित परिवारलाई दसैँलगत्तै घरमै पुगेर राहत रकम उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।