खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो,’ शाहको शुभकामना सन्देशमा भनिएको छ । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।
काठमाडौं, असोज २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा आफ्नो बेचैनी बढेको बताउनु भएको छ । विजया दशमी २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताउनु भएको हो ।
उहाँले सन्देशमा नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको पनि उल्लेख गर्नुभएको छ । गाउँबस्ती र शहरी क्षेत्र क्रमशः ‘युवा शक्ति विहीन’ बन्दै गइरहेको बताउँदै शाहले यतिबेला मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको जिकिर गर्नुभएको छ ।
युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहाली लाग्दो अवस्था भोग्दै गरेको भन्दै शाहले चिन्ता व्यक्त गर्नुभएको छ ।
‘रोजगारीको निमित्त बिदेशिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेतवारी मात्र बाँझो तुल्याएको होइन, हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ,’ सन्देशमा भनिएको छ, ‘हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैं हुनु पर्दछ ।’
पूर्वराजा शाहले ‘नेपाल शान्त राष्ट्रको रूपमा घोषित होस र यसैबाट विश्वभर परिचित रहोस’ भन्ने आफ्नो मान्यता र आग्रह रहेको पनि बताउनु भएको छ । ‘यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ,’ शाहको सन्देशमा भनिएको छ ।
उहाँले सन्देशमा सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पूरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको उल्लेख गर्नुभएको छ ।
‘खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो,’ शाहको शुभकामना सन्देशमा भनिएको छ, ‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।’
प्रतिक्रिया दिनुहोस्