काठमाडौं, असोज २४ । रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल निकट पत्रकारका केन्द्रीय अध्यक्ष अश्विन दानी सत्ताको आडमा असुली धन्दामा लागेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकारसमेत रहेका दानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।
पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा दानीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । दानीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित दानीलाई पक्राउ गरिएको हो । नागरिक उन्मुक्ति पार्टी निकटको पत्रकार संघका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकारसमेत रहेका दानीले पदको आवरणमा आपराधिक काम गरेको आरोप छ ।
दानीबिरुद्ध यसअघि नुवाकोटमा ठगी मुद्दा रहेको अनुसन्धानको अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ । चन्द्रबहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटको अभिलेखमा देखिएको हो ।
उनलाई मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य वस्तु ठगी गरेको आरोपमा गोरखाकै भिमसेन थापा गाउँपालिका–८ का अर्जुन कुमालसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत चैतमा पक्राउ गरेको र धरौटीमा रिहा भएको प्रहरीले बताएको छ ।
प्रेस चौतारीले दानीको क्रियाकलाप ठीक नभएको जनाएर गोरखाका जिल्ला अध्यक्षबाट कार्वाही गरेपछि नागरिक उन्मुक्ति पार्टीतिर लागेका थिए । मुगा र माला चोरीको काण्डपछि दानीलाई प्रेस चौतारीले संगठनबाट निश्काशन गरेको थियो । दानी पर्यटन राज्यमन्त्री अरुण चौधरीको सचिवालयमा रहेर काम गर्दैआएका छन ।
दानीलाई मुद्दासहित जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्