सिन्धुली, असोज २५। गत असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाको कारण आएको बाढीले क्षति पुर्यायाएको बिपी राजमार्ग डाइभर्सन निर्माण सञ्चालनमा ल्याएको छ ।
सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको सडकलाई ठाउँ ठाउँमा डाइभरसन गरी शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइएको हो । बाढीले क्षति पुर्याएको सडकको यस अघि नै खुर्कोट-नेपालथोक खण्ड र धुलिखेल नार्के खण्ड सफा गरी ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात साधन सञ्चालनमा ल्याएको थियो ।
मंगलटारबाट नार्केको पुलसम्मको अवरुद्ध सडकमा पनि ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरी सडक सञ्चालन भएको वाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप कटवालले जानकारी दिनुभयो । कटवाल सडक खोल्न सिन्धुलीको खोर्कोटदेखि निरन्तर खट्नु भएको थियो ।
‘बर्दिबास–बनेपा सडक सञ्चालन भयो, सिन्धुलीको टोली मंगलटार चिसापानीसम्म पुग्यो, काभ्रे र भक्तपुरको टोली संयुक्त जम्मा भई बाटो सम्पन्न गरी सबैजना खुसी भएर सबै पक्षलाई धन्यवाद दिई सिन्धुली फिर्ता भयौँ’, उहाँले भन्नुभयो ।
वर्षाले बिपी मार्गलाई रोशी खोलाले ठुलो क्षति पुर्याएको छ । अहिले खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याएको हो । बिपी मार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व जाने गाडीहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् ।
सडक खुलेको भए पनि ठाउँ ठाउँमा खोलाबाट डाइभर्सन निर्माण गरेको छ । रोशी खोलो बढ्ने बित्तिकै सडक बगाउने अवस्था छ । कच्ची र साँघुरो बाटो भएकोले यात्रा त्यति सहज छैन । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्