जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार १५:५१

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास, भाटभटेनी सञ्चालक मीनबहादुर दम्पतिले गरे १० रोपनी १४ आना जग्गा दान


काठमाडौं, असोज २५ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्नुभएको  छ ।

भाटभटेनीका संचालक ब्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो ।

उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाउनुभयो ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुभयो ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयो ।