सिन्धुली, असोज २५ । गत असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाका कारण आएको बाढी र पहिरोले क्षतीग्रस्त बनाएको सडक निर्माणपछि सञ्चालनमा आएलगत्तै पुनः अवरुद्ध बनेको छ । प्रशासनले दिनरात नभनी काम गरेर सञ्चालनमा ल्याएको बिपी राजमार्ग खोल्ने बित्तिकै पुनः बन्द भएको हो ।
बाढीको कारण अवरुद्ध भएको राजमार्गलाई ठाउँ ठाउँमा डाइभर्ट गरी बिहीबार राति खुलाइएको भए पनि शुक्रबार बिहानैबाट पुन अवरुद्ध भएको छ । शुक्रबार बिहान सो सडक खण्डको काभ्रे रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्खा पहिरो जाँदा पुनः सडक अवरुद्ध भएको हो ।
गुडिरहेको सुमो माथि पहिरो खस्दा सुमो पुरिएको छ । पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पुरेको हो । सुमोमा चालक मात्र रहेका र अगाडिको भागमा क्षति नभएको कारण चालक बच्न सफल भएका छन । पहिरोमा गाडीमा क्षति भएको भए पनि कुनै मानवीय क्षति भने नभएको सुमो चालकले बताए ।
पहिरो छल्न खोज्दा सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बस पनि रोशी खोलामा पल्टिएको छ । बसमा पनि अन्य यात्रु नभएका तथा चालक सकुशल छन । पहिरो गएको बाटो खुलाउन प्रयोग गरिएको एउटा लोडरमा पनि पहिरोले क्षति पुर्याएको छ ।
सो ठाउँमा पहिरो झरेको भए पनि अन्य स्थानमा बाटो नबिग्रिएको पहिरो गएको स्थानमा पुग्नुभएका राज मैनालीले जानकारी दिनुभयो । यसैबीच काभ्रे प्रहरीले सूचना जारी गरी नमोबुद्धबाट तेमाल हुँदै मंगलटार जाने कच्ची सडक र रोशी गाउँपालिका–११ को बिपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले सडक अवरुद्ध भएको जनाएको छ ।
बाढी पहिराले बिपी राजमार्ग रोशी र सुनकोशी नदी किनारमा ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्