जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार ०८:०४

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई दशैंको टीका नलगाइ दिने, यस्तो छ कारण


काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको बडादशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ ।

बडा दशैंको सन्निकटमा मुलुकमा बाढी पहिरोका कारण पुगेको मानवीय क्षतीको कारण उल्लासमय बातावरणमा दशैं मनाउन नसकिएको जनाउँदै प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई दशैंको टीका नलगाउने निर्णय लिनुभएको हो । दशैंको अवसरमा भिडियोमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले परिवारका सदस्यसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखिएको जानकारी दिनुभएको छ । यसअघि उहाँले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिने गर्नुभएको थियो ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालीको विजया दशमीको टीका उल्लासपूर्ण नभएको प्रधानमन्त्री ओलीले बताउनु भयो । दशैंअघि आएको बाढी पहिरोका कारण कैयौंले जीवन गुमाउनु परेको कति घाइते बन्नुपरेको र धेरै भौतिक पूर्वाधार, खानेपानी ध्वस्त भएको उहाँले बताउनुभयो । विपद्को घडीमा उल्लासमय ढंगले दशैं मनाउन नसकिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दशैंअघि मुलुकमा आएको प्राकृतिक बिपत्तिका घटनाले पुर्याएको जनधनको क्षतीबाट आफ्नो मन भारी भएको बताउनु भयो । ’हाम्रा दाजुभाइ तथा दिदीबहिनी पनि रमाउन सक्नुभएको छैन, म पनि रमाउन सकिरहेको छैन, सरकारको नेतृत्व गरिरहेको हुनाले मेरो काँधमा थप जिम्मेवारी, उहाँ (पीडित) हरूको आँसु पुछ्ने, उहाँहरुका घाउमा मलम लगाउने, पीडितलाई राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा म लागिरहेकाको छु, सबैलाई धैर्यधारण गर्न आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

पीडामा परेकाहरुको पीडा हटाउन विश्वभर छरिएका नेपालीलाई सहयोगको हात बढाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । पीडा सहेर अगाडि बढ्दै पहिलेकै अवस्थामा अझ सुन्दर संरचना निर्माण गरेर पुनःस्थापित गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।

विपद्बाट किसानहरुको अन्नबालीमा नोक्सान भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराइने जानकारी गराउनु भयो । यस्तै अस्थायी बसोबासको प्रबन्ध र खानपीनको प्रबन्ध गरिने उहाँले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले परिस्थिति अनुसार दशैं मनाउन र मिल्नेहरुलाई टिका लगाउन सबैमा आग्रहसमेत गर्नुभएको छ ।