काठमाडौं, असोज २६ । सभामुख देवराज घिमिरेले दशैंले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बिजया दशमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले दशैंको अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त पनि गर्नुभएको छ ।
‘असत्यमाथि सत्यको विजय दशैंको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दशैंले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ,’ सभामुख घिमिरेले भन्नुभएको छ ।
पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायले समेत दशैं मनाइरहेको सन्दर्भमा दशैं सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले दशैं नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको निश्कर्ष पनि सुनाउनु भएको छ ।
‘परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिनेजस्ता दशैंका मौलिक विशेषता छन् । पछिल्लो समय हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायलेसमेत मनाइरहेका सन्दर्भमा दशैं सबै नेपालीको साझा चाडका रूपमा विकास भएको छ,’ सभामुख घिमिरेले भन्नुभएको छ ।
यस्तै दशैंको पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढी, पहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रा गरी मनाउन पनि अनुरोध गर्नुभएको छ ।
‘बाढी, पहिरोले यातायातलाई प्रभावित बनाएको छ भने ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था छ । तसर्थ, सुरक्षित र सावधानीपूर्वक यात्रागरी दशैं मनाऔँ । चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन आह्वान गर्दछु,’ शुभकामना सन्देशमा सभामुख घिमिरेले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्