जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार १५:२८

बलिया राजनीतिक शक्तिलाई स्थापित गर्ने अठोट गर्नु आजको आवश्यकता : महासचिव पोखरेल


काठमाडौं, असोज २६। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका बताउनुभएको छ ।

बडा दशैँ लगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले नेपाल संस्कृतिमा अत्यन्त धनी रहेको बताउनुभएको छ ।

‘नेपालका मौलिक सांस्कृतिक पर्वहरूले नै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्, वीर नेपालीको भूमिका रूपमा परिचित नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न राष्ट्रका रूपमा बुझ्ने गर्दछौँ’, महासचिव पोखरेलले भन्नुभयो ।

पछिल्ला दिनहरूमा नेपालको मौलिक संस्कृति माथि विभिन्न कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपालको संस्कृति मूल्य र मान्यताको विगठन हुने क्रम बढेको उहाँले बताउनुभयो । ‘चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।

समाजमा रहेका विकारलाई अन्त्य गरेर मुलुकलाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो ।

राजनीतिक परिवर्तन पछाडि मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बेलामा नेपालको राजनीति अलमलिएको अवस्थामा रहेको उहाँको धारणा छ ।

‘राजनीति अस्थिरता चुनौती बनिरहेको छ, राजनीतिमा पनि शक्तिलाई सुदृढ गर्नुपर्ने, बलिया शक्तिका माध्यमबाट शासन व्यवस्था अगाडि बढाउनु पर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिमा बलिया राजनीतिक शक्तिलाई स्थापित गर्ने अठोट गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो । हाम्रा सांस्कृतिक पर्व यही अठोटका साथ मनाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो ।