डडेल्धुरा, असोज २७ । सदरमुकाम अमरगढी नगरपालिका–७ निवासी १४ वर्षीया किशोरी आरती भट्टराईको घाटी थिचेर हत्या गरेको तथ्य बाहिर आएको छ । प्रहरीले हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारीलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।
घटनाको केही घण्टामै प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो । भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेको पत्रकार सम्मेलनमार्फत प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्या आरोपी भण्डारीलाई पनि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार पोखरा बजारमा भण्डारी पुस्तक एन्ड स्टेस्नरी पसल सञ्चालन गर्दै आएका भण्डारीले आफ्नै पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन । स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन । प्रहरीसमक्ष भने भण्डारीले किन हत्या गरेको भन्ने विषयमा आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।
‘आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको भनेका छन । किन आवेगमा आएको भन्ने विषयमा कुनै जवाफ दिएका छैनन,’ डीएसपी प्रमुख श्रेष्ठले भन्नुभयो, ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको पनि हुनसक्छ । तर, पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, रिपोर्ट आएपछि सवै खुल्छ ।’ किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
असोज २५ गते भण्डारीले भट्टराईको हत्या गरेका हुन् । प्रहरीका अनुसार किशोरी ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी भट्टराईले बजारमा चप्पल पनि किनेको पाइएको छ । भण्डारीसँग किशोरीको एक बर्षअघिबाटै चिनजान रहेको पाइएको जानकारी दिँदै प्रनाउ श्रेष्ठले बताउनु भयो । ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको हुनसक्छ,’ उहाँले भन्नुभयो ।
हत्यापछि भण्डारीले आरतीको शव बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेका थिए । संयोगवश त्यति नै बेला एक प्रहरी पनि त्यहाँ पुगेका थिए । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका प्रहरीले उठाएर सहयोग गरेका थिए ।
‘किशोरीको हत्या गरेर शव राखेकै बेला प्रहरी पुगेपछि उनी बेचैन देखिएका थिए । आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेर फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा केही घण्टा मदिरा पिएको प्रहरीको भनाई छ । हत्यापछि उनले साँझ ६ः३० बजे श्रीमतीलाई फोन गरेर आफू घर पुग्न ढिला हुन्छ भन्दै जानकारी दिएका थिए ।
राती ९ बजेतिर फर्केर उनले आफ्नो पसल खोलेर शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि थप अत्तालिएको र शव त्यही फालेर भण्डारी भागेको प्रहरीले बताएको छ । भाग्ने क्रममा उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्