जनता टाइम्स

२८ आश्विन २०८१, सोमबार ०९:४५

प्रमुख दलका चाडपर्व लक्षित शुभकामना आदान-प्रदान कार्यक्रम स्थगित, यस्तो छ कारण


काठमाडौं, असोज २८ । दशैं, तिहार, छठ र नेपाल संबतलगायत नेपाली चाडपर्वका अवसरमा चियापान गरी शुभकामना आदान प्रदान गर्दै आएका प्रमुख राजनीतिक दलहरूले यस वर्ष त्यस्ता कार्यक्रम स्थगित गरेका छन ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीले दशैंको मुखमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको क्षति भएकाले शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन ।

राजनीतिक जमघटको रुपमा लिइने चियापान र शुभकामना आदान कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षले एउटै थलोमा अन्तरक्रिया गर्ने अवसरको रुपमा लिने गरिन्थ्यो । तर यसपटक दशैंको मुखमा आएको बाढी, पहिरोमा परी झण्डै दुई सय जनाको मृत्यु र ठूलो भौतिक क्षति भएकाले दलहरुले विगतादेखि गर्दै आएको चियापान कार्यक्रम नगर्ने जनाएका हुन ।

मुख दलहरुले बाढी, पहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिक रुपमा दशैं शुभकामना कार्यक्रम नगर्न समेत निर्देशन दिइसकेका छन । विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका साथ शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको थियो । यसवर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम प्रायः ठप्प रहेका छन ।

कांग्रेसले कात्तिक १ मा शुक्ल पूर्णिमा दिन चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रमको तयारी गरे पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको छ । हरेक वर्ष गर्दै आएको कार्यक्रम यसवर्ष विपत्तिका कारण स्थगित गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । कांग्रेसले बाढीपीडित प्रभावित क्षेत्रमा राहतका साथै घरबास बगाएका स्थानमा बसोबासका निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति गरेको भन्दै पारिवारका सदस्यसँग मात्र टीका लगाउनु भयो । विगतजस्तो पार्टी कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रमसमेत स्थगित गर्नुभयो । एमालेले हरेक वर्ष गर्दै आएको दशैं, तिहार, छठ र नेपाल सम्वतका अवसरमा चियापान र शुभकामना अदानप्रदान नगर्ने निर्णय गरेको छ ।

एमालेले तल्लो समितिलाई सर्कुलर गर्दै औपचारिक चियापान तथा शुभकामना कार्यक्रम नगर्न निर्देशन गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विपत्ति आएका बेला पीडितको सेवा गर्नु मुख्य काम भएकाले चियापान गरी शुभकाममना कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । माओवादीले पनि तल्लो समितिलाई सर्कुलर गरी कुनै पनि शुभकामना कार्यक्रम नगर्न निर्देशन गरिसकेको छ । उसले पीडितको दुःखमा सामेल भएर राहत, अस्थायी पुनर्बासमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिब एबं केन्द्रीय सदस्य रमेश मल्लले विपत्तिका कारण शुभकामना कार्यक्रम स्थगित गरेको बताउनु भयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दशैंलगायत पर्वमा गर्ने तयारी गरेको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको जनाएको छ । रास्वपाले पनि बाढीपीडितलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई निर्देश गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विगतमा गर्दै आएको शुभकामना आदानप्रदा कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भयो । यसैगरी नेकपा एकीकृत समाजवादीले पनि प्राकृतिक विपत्तिका कारण दशैं, तिहारलगायत पर्वमा हुने शुभकामना कार्यक्रम नगर्ने जनाएको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले विपत्ति आउनु अघि चियापान गर्ने तयारी भए पनि स्थगित गरिएको बताउनु भयो । यस्तै जनमोर्चा, नेमकिपासहितका अन्य दलले पनि बिपत्तिको कारण यस्ता कार्यक्रम नगर्ने निर्णय गरिएको जनाएका छन ।