रामेछापको खाडादेवी गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले निकै सह्रानीय काम गरेका छन । दुवै निकायले दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा यात्रारत यात्रु र सवारी साधनका चालक सहचालकलाई निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरी मानवीय सेवा दिएका हुन ।
रामेछाप, असोज २८ । दशैंमा यात्रुको चाप बढेपछि हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन ।
यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा काभ्रेको दोलालघाट, सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै रामेछाप भएर लामोदूरीका सवारी साधन सञ्चालन भइरहेका छन । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी निःशुल्क खाजासहितको विश्रामस्थलको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
‘लामोदूरी पार गरेर आएका सवारी साधनहरु प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन । अभियान प्रभावकारी भएको छ,’ वडाध्यक्ष कार्कीले भन्नुभयो । उहाँका अनुसार यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रुलाई लक्षित गरी असोज २४ र २५ गते सञ्चालन गरिएको थियो ।
फेरि दशैं मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपकुमार सिंहले बताउनुभयो ।
काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन ।
भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ ।चालकसहित यात्रुलाई निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका छन । दुर्घटनामा पनि कमी आएको स्थानीय प्रशासनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्