जनता टाइम्स

२९ आश्विन २०८१, मंगलवार ०८:२७

बिपी राजमार्गमा ह्वात्तै बढ्यो सवारीको चाप, सडक भने जताततै धरापै–धराप


सिन्धुली, असोज २९ । यही असोज ११ र १२ गते आएको भीषण वर्षापछिको बाढी पहिरोले बगाएको बिपी राजमार्गमा डाइभर्सन निर्माण गरी सञ्चालन गरिएपछि सडकमा सवारीको चाप ह्वात्तै बढेको छ ।

काठमाडौंबाट पूर्वतिर जाने छोटो बाटो भएको कारण दशैँमा टीका लगाउन गाऊँ जाने र दशैँ मानेर काठमाडौं फर्कनेको कारण सवारीको चाप बिपी राजमार्गमा बढेको छ । सोमबार सडकमा साना सवारी साधनको लाइन देखिएको छ । मंगलवार यो चाप अझै बढेर गएको छ ।

रोशी खोलाको बाढी र पहिरोले बगाएको सडक फूलपातीको दिन राति खोलिएको भए पनि राती नै सुख्खा पहिरो गएपछि बन्द भएको थियो । पुनः सुक्खा पहिरो हटाएर सवारी साधन सञ्चालनको लागि खुल्ला गरिएपछि सोमबार सो सडकमा यातायात साधनको चाप बढेको छ ।

विभिन्न ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको सडकमा डाइभर्सनमा जामा लागेको हो । साँघुरो बाटोमा एकतर्फी मात्रै यातायात साधन चल्ने हुँदा सडक जाम भएको हो । डाइभर्सनमा लामो समयसम्म यातायात साधनले पालो पर्खनु पर्ने अवस्था रहेको छ । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निक्कै अप्ठेरा छन । ‘बाटो अप्ठेरो छ, चौकी डाँडाको डाइभर्सनमा भने लामै पालो पर्खनु पर्छ’, सोमबार सो बाटो हुँदै काठमाडौं हिडेका झापाका कुमार बस्नेतले भन्नुभयो ।

सोमबार साँघुरा डाइभर्सनमा सडक मर्मत गर्ने काम भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा सडक मर्मतका लागि आफैँ डोजरसँग दिनभरि खट्नु भएको थियो ।मंगलबारबाट सो सडकमा रुटका गाडी समेत चल्ने भएका छन । सो रुटको अनुमति लिएका गाडीलाई आजबाट सडक डिभिजन कार्यालय भक्तपुरले सञ्चालनको अनुमति दिएको छ ।

सुख्खा पहिरो जान सक्ने भन्दै रातको समयमा भने यातायात सञ्चालनमा रोक लगाइएको कार्यालयले जनाएको छ । मंगलवारबाट माम्ति र चौकीडाँडामा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ ।

सो सडकमा यातायातको चाप निक्कै बढे पनि सडक भने जोखिमपूर्ण रहेको छ । बाढी पहिरोले चर्किएका भित्तामा सवारी चापले थर्किएर सुक्खा पहिरो जाने जोखिम अधिक रहेको छ ।
सो सडकको काभ्रे भञ्जयाङदेखि खुर्कोटसम्मकै सडक जोखिमपूर्ण छ ।

रोशी खोलाले कटान गरेको ठाउँमा ठाउँ ठाउँमा खोलै खोला डाइभर्सन निर्माण गरिएको छ । काभ्रे भञ्ज्याङदेखि खुर्कोटसम्म बाँकी रहेको सडक पनि ठाऊँ ठाऊँमा धसिएर र चर्किएर धराप बनेको छ । तर दशैं मानेपछि आफ्नो काममा फर्कनु परेकोले उनीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।