काठमाडौं, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई स्थापना दिवसमा सरप्राइज दिनुभएको छ । नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइने घोषणा गर्नुभएको हो ।
उहाँले सङ्घीय संसदको आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।
अहिलेको संविधान नेपाली जनता सार्वभौमसत्तासम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उहाँले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
‘चुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दशैंपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दशैं ? २०८४ सालको ? जबकि हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफै फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।’
व्यवस्थाविरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘कुना काप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा ९एमाले० सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् । स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागि कुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’
नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उहाँले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान जाने प्रतिबद्धता व्यक्त गर्दै अहिले समाजमा सांस्कृतिक धरातल खस्किएको र साइबर अपराध र लागु औषध प्रयोगका घटनाहरु बढ्नु राम्रो नभएको बताउनुभयो ।
देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।
प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’सहित विधिन्न पुरस्कार र छात्रवृत्तिबाट बहालवाला र अवकाशप्रप्त प्रहरीलाई पुरस्कृत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्