सिन्धुली, कात्तिक १ । अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको बिपी राजमार्गमा सवारीको चाप ह्वात्तै बढेको छ । दशैँ मानेर घर फर्कनेहरूको भिड बढेको कारण सो राजमार्गमा सवारी साधनको अत्यधिक चाप बढ्दा लामो जाम हुने गरेको छ । ठाउँ ठाउँमा एकतर्फी रूपमा मात्र सडक सञ्चालन हुँदा ती ठाउँहरूमा सवारी साधनको जामा लाग्ने गरेको छ ।
गत असोज १० गतेबाट तीन दिनसम्म परेको भीषण वर्षाको कारण रोशी खोलाले १० किलोमिटर बढी बिपी राजमार्ग बगाएको छ । सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी दशैँको नवमीको दिन सडक खुलाइएको थियो ।
दशैँ सकिए लगत्तै सो सडकमा नियमित क्युका गाडीहरूलाई सञ्चालन अनुमति दिइएको छ । सञ्चालन अनुमति पाएका सार्वजनिक यातायात तथा निजी यातायात साधन एकैपटक छुटेपछि अहिले सडकमा सवारीसाधनको चाप बढेको छ ।
काठमाडौं पूर्वका जिल्लामा आउजाउ गर्ने छोटो बाटो भएको कारण काठमाडौंबाट पूर्व जाने अधिकांश सवारीसाधनले यही सडक प्रयोग गर्ने गर्दछन । अहिले दशैँ मानेर काठमाडौं फर्कने क्रम भएकोले पनि सडकमा ठुलो सङ्ख्यामा सवारीसाधनहरू गुडिरहेका छन । जसले एकतर्फी मात्र यातायात साधन गुड्ने डाइभर्सनहरूमा भिड लागेको छ ।
यात्रूहरुका अनुसार डाइभर्सन निर्माण गरिएको माम्तीखोला, तथा चौकीडाँडा क्षेत्रमा ठुलो जाम पर्ने गरेको छ । अत्यधिक सडक जाम भएपछि डाइभर्सन बनाइएको ठाउँमा सडक विस्तारको काम पनि सुरु भएको छ । माम्ति क्षेत्रमा सडक विस्तारको लागि तीनवटा डोजरले काम गरिरहेका छन् । त्यस्तै चौकीडाँडामा पनि सडक विस्तारको काम भइरहेको छ ।
बिपी मार्ग बगाएपछि सडक खुलाउन सुरुदेखि नै खट्नु भएका नेकपा एमालेका नेता प्रदीप कटुवाल दशैँको टीका सकिए लगत्तै बुधबारबाट सडक विस्तारको लागि डाइभर्सन बनाएको क्षेत्रमा पुग्नुभएको छ । उहाँले नेपालथोक, माम्ति, चौकीडाँडा लगायता क्षेत्रमा सवारी जाम भएको बताउनुभयो ।
जामको समस्या समाधानको लागि बाटो बढाउन काम सुरु भएको कटुवालले जानकारी दिनुभयो । आफूहरू खोला खोलामा नै बसेर सडक विस्तारको काममा जुटिरहेको बताउँदै सर्वसाधारणलाई केही समय धैर्यताका साथ यात्रा गर्न पनि कटुवालले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्