बाढीले बगाएको सिन्धुली र रामेछाप जोडने सुनकोसी नदीमा बेलिव्रिज जोडिएको छ । शनिबारसम्म एमपिबी जडानको काम सकेर यातायात सुचारु गरिने पुल निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।
सिन्धुली, कात्तिक १ । असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बगाएको सुनकोसी नदीमा बेलिव्रिज जोडिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा बिहीवा साँझ अस्थायी एमपिबी बेलिव्रिज जोडिएको हो ।
बाढीले पक्की मोटरेवलपुल बगाएको २० दिनमा नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोड्न सफल भएको हो । सरकारले सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त सुनकोशी नदीको पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
नेपाली सेनाको १४ बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले बिहीवार एमपिबी राखेर सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोशी नदीमा बेलिव्रिज जडान गरेको हो । गत असोज २२ गतेबाट एमपिबी जडानको काम सुरु गरेको नेपाली सेनाको १४ बाहिनी अड्डाको टोलीले नवौं दिनमा असोज ३० गते बुधबार नै बेलिव्रिज जडानको प्रारम्भिक काम सकेर दुई जिल्लालाई जोडेको नेपाली सेनाको १४ बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले जानकारी दिनुभयो ।
बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गसँग जोडिने खुर्कोट-मन्थली-तामाकोशी सडक अन्तरगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभाग सुनकोशी नदिमा आएको बाढीले बगाएको थियो । एमपिबी जडानको काम सकिएको र बिहीबारबाट एमपिबीको डेकिङ युनिटको काम सुरु हुने बताइएको छ ।
शनिबारसम्म एमपिबी जडानको सम्पूर्ण काम सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका मेजर चौलागाईको भनाइ छ । तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको थियो । पुलको आधार भाग बगाएपछि २१ दिनदेखि सिन्धुली रामेछाप यातायात अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्