जनता टाइम्स

२ कार्तिक २०८१, शुक्रबार ११:१०

बिपक्षी दलको बैठकमा सहकारी ठगीको अनुसन्धान रोक्नुपर्ने प्रस्ताव, रबि लामिछाने जोगाउन कस्सिए प्रचण्ड


काठमाडौं, कात्तिक २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको बिपक्षी दलको बैठक सहकारी ठगी प्रकरणमा अनुसन्धान रोक्नकै लागि भएको तथ्य खुलेको छ ।

दाहालले बोलाउनु भएको बैठकमा सहकारी ठगी प्रकरणका मुख्य दोषी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेसहित ६ जना नेताको डफ्फा नै सहभागी भएपछि यो तथ्य बाहिर आएको हो । बैठकमा जारी रहँदा नै एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार सो बैठकमा रास्वपाका सभापति लामिछानेले नै सहकारी ठगी प्रकरणको अनुसन्धान प्रकृया अघि बढन नहुने प्रस्ताव राख्नुभएको छ ।

रबिको प्रस्तावलाई दाहालले सहमति जनाउँदै ‘यी सवै कामका लागि बिपक्षीको मोर्चावन्दी अनिवार्य बनेको’ भन्दै सहकारीको अनुसन्धान प्रक्रिया रोक्ने प्रष्टै योजना सुनाउनु भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रहनुभएका लामिछाने सहकारी प्रकरणमा पक्राउ पर्ने निश्चित जस्तै छ ।

गोर्खा मिडियाका सञ्चालक पूर्वडिआइजी छबिलाल जोशीले रबि र जिबि राईको योजनाअनुसार सवै पैसा आएको र आफू कारिन्दा मात्रै रहेको बयान दिएपछि मुख्य दोषी रबि नै रहेको प्रष्ट भएको छ । छबि पक्राउ परेपछि अत्तालिनुभएका रबिले त्यसयता सहकारी ठगी प्रकरणको अनुसन्धान रोक्ने अभियान नै चलाउनु भएको छ ।

सोही मिशनका साथ रबिले आज बिपक्षी दलको बैठकमा दलबलसहित यस्तो प्रस्ताव राख्नुभएको र दाहालले यसैलाई एजेण्डा बनाएर आन्दोलनको प्रस्ताव गर्नुभएको ती नेताको भनाई छ । ‘बिपक्षी दलको बैठकमा जनताको एजेण्डा होला, सरकारलाई राम्रो काम गर्न दवाव दिने योजना होला भनेको छ सहकारी ठग (रबि) जोगाउन पो रहेछ । बैठक त रबिलाई जोगाउनको लागि पो बोलाइएको रहेछ’ भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठक नै बहिष्कार गर्नुभएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले रबिलाई जोगाउन आफूहरु लाग्ने भन्दै सरकारबिरुद्ध जेहाद छेडन रास्वपाका सवै नेता कार्यकर्ता मैदानमा उत्रनुपर्ने सर्त राख्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको आह्वानमा आज विपक्षी दलको बैठक बसेको हो । सो बैैठकमा रास्वपाबाट मात्रै ६ नेता सहभागी भएका छन । सभापति लामिछानेसहित उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त महर्जन बैठकमा रहनुभएको छ ।

बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्छ । यस्तै आजपाबाट अध्यक्ष प्रभु साह सहभागी हुँदा सत्ता पक्षमै रहेपनि लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी हुनुभएको छ ।