काठमाडौं, कात्तिक २ । जान्नेलाई छान्ने भन्दै नयाँको नारा दिएर राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी तीन बर्ष नपुग्दै अपराधकर्मको पक्षमा संस्थागत रुपमा उभिएको छ ।
सहकारीको करोडौं रुपैयाँ ठगी गरेको अभियोग लागेपछि ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि सभापति रवि लामिछाने पक्राउ पर्दा केन्द्रीय कार्यालयमै अवरोध र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेर रास्वपाले आफू अपराधकर्मलाई संस्थागत गर्न आएको प्रमाण दिएको हो ।
जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले पठाएको पत्रको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोली शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीमा रबिलाई पक्राउ गर्न पुगेको थियो ।
सो क्रममा लामिछानेलाई पक्राउ गर्न अवरोध गर्दै रास्वपाका नेतादेखि कार्यकर्तासम्मले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेका हुन । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति लामिछानेलाई अदालतको आदेशअनुसार पक्राउ गर्न सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली सो कार्यालयमा पुगेको थियो ।
उनीहरुको नारावाजी सुन्दा दिमाग ठेगानमा भएका कोही पनि सो कार्यालय वरपर नरहेको आभास मिल्थ्यो । एसपी बोगटी नेतृत्वको टोलीले नै पक्राउपछि स्थलमार्गबाट लामिछानेलाई पोखरा लगिरहेको छ ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले माग गरे अनुसार शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले अनुमति दिएको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।
कास्की प्रहरीको पत्र आएपछि रबिलाई प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही मुद्धामा गोर्खा मिडियामा सञ्चालक पूर्वडिआइजी छबिलाल जोशी प्रहरी हिरासतमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्