जनता टाइम्स

४ कार्तिक २०८१, आईतवार १८:१०

रबिलाई हिरासतमै राखेर ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति


पोखरा, कात्तिक ४ । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतवार लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा भएको बहशपछि इजलाशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राती नै पोखरा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाका पार्टी नेता कार्यकर्ता आक्रोशित र मर्यादाहीन बनेर सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन ।