जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १८:३१

बास्तविक बधाईका हकदार तपाईहरु भन्दै मतदातासामु एनआरएनए अध्यक्ष पन्तको आयो यस्तो अठोट


काठमाडौं, कात्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित अध्यक्ष कुमार पन्तले आफूलाई बिश्वास गरी जिम्मेवारी सुम्पने सम्पुर्ण मतदाता नै बधाईको पहिलो हकदार भएको बताउनु भएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि आफ्नो धारणा राख्दै पन्तले यस्तो बताउनु भएको हो । ‘यो नतिजाको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । तसर्थ वास्तविक बधाईको हकदार पनि तपाईंहरु नै हुनुहुन्छ,’ पन्तले भन्नुभएको छ ।

यस्तो छ पन्त आभार
आदरणीय एनआरएन अग्रज तथा प्रतिनिधि मित्रहरु,
स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइ ।

गैर आवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनबाट मलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिनुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै सबै विजेतालाई बधाई दिन चाहन्छु । विभिन्न पदमा रहेर यस एनआरएन अभियानलाई योगदान गर्ने उत्कट चाहनासहित उम्मेदवारी दिनुभएका अन्य मित्रहरुप्रति पनि मेरो हार्दिक सम्मान छ ।

आफ्नो व्यक्तिगत काम नभनी, दसैँ तिहार जस्ता ठूला चाडको बीचमा परिवार समेत नभनी मतदानका लागि यहाँ आउनुभयो । भोक, प्यास, निद्रा नभनी यहाँहरुको महत्वपूर्ण समय र अमूल्य मत दिनुभयो । यहाँहरु सम्पूर्णलाई हृदयदेखि धन्यवाद । यो नतिजाको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । तसर्थ वास्तविक बधाईको हकदार पनि तपाईंहरु नै हुनुहुन्छ । मतदानमै आउन नपाए पनि आ–आफ्नो ठाउँबाट प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने शुभेच्छुकप्रति पनि कृतज्ञ छु । साथै, निर्वाचन समिति, सचिवालय तथा सञ्चारकर्मी मित्रहरुलाई पनि विशेष धन्यवाद ।